रसीद आलम
बारा, १९ साउन ।
सशस्त्र प्रहरी बल बाराले तस्करी नियन्त्रण अभियानलाई थप सशक्त बनाउँदै करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुम बहादुर केसीको नेतृत्वमा तस्करी विरुद्धको अभियानलाई तीव्रता दिइएको हो।
पचरौता–१, पिपरपातिबाट मुख्य बरामद
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपाती, बाराबाट खटिएको टोलीले बारा जिल्लाको पचरौता नगरपालिका–१, पिपरपाती गाउँ स्थित सीमाक्षेत्रमा २ थान मोटरसाइकल मार्फत अवैध रुपमा भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको लेडिज कुर्ता–सलवार र स्पोर्टस जुत्ता सहितको करिब ५ लाख ६५ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो।
बरामद कार्य सशस्त्र प्रहरी नायब उपरीक्षक राजनलाल श्रेष्ठको कमाण्डमा खटिएको पाँच सदस्यीय गस्ती टोलीले गरेको हो। गस्ती टोली देख्नासाथ सामानसहित आएका व्यक्ति मोटरसाइकल छाडी फरार भएका थिए।
सशस्त्र प्रहरीले ती सामानहरु नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी भन्सार दाखिला गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।
जितपुरसिमराबाट थप अवैध सामान बरामद
यसैबीच, जितपुरसिमरा (वीरगंज–पथलैया सडक खण्ड) अन्तर्गत चलिरहेको यात्रुवाहक बसको डिक्कीबाट करिब १ लाख ८५ हजार रुपैयाँ बराबरको किराना सामान तथा लेडिज आइटमहरू बरामद गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
उक्त सामान सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको नेतृत्वमा खटिएको जितपुरसिमरा बेस कमाण्ड टोलीले बरामद गरेको हो।
तस्करी विरुद्धको अभियान अझ तीव्र
एसपी खुम बहादुर केसीले नेतृत्व लिएको अभियान अन्तर्गत पछिल्ला दिनहरूमा सशस्त्र प्रहरीले सीमाक्षेत्रमा तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरिरहेको छ। खुला सिमानाको दुरुपयोग गर्दै हुने अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले उच्च सतर्कता र निगरानी राखिरहेको छ।
सशस्त्र प्रहरी बल बाराले यसअघि पनि पटक–पटक विभिन्न भेगबाट लाखौं मुल्य बराबरको तस्करीजन्य सामान नियन्त्रणमा लिई भन्सारमा बुझाउँदै आएको छ।
सशस्त्र प्रहरीको तस्करी नियन्त्रण अभियानले तस्करहरूको मनोबल कमजोर बनाएको देखिन्छ। सीमाक्षेत्रमा सुरक्षालाई अझ बलियो बनाउँदै लैजाने र तस्करीजन्य गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने सशस्त्र प्रहरी बल बाराको अभियानप्रति सर्वसाधारणले पनि सकारात्मक प्रतिक्रिया जनाइरहेका छन्।
