पर्सामा ठूलो मात्रामा रासायनिक मलको कालोबजारी नियन्त्रण, १७३ बोरा मल बरामद

समाचार

पर्सा, साउन २९ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर मल अभाव रोक्न र किसानलाई जुनसुकै परिस्थितिमा आवश्यक मल आपूर्ति गर्न निरन्तर निर्देशन दिइरहेका बेला पर्सामा ठूलो मात्रामा रासायनिक मलको कालोबजारी नियन्त्रण गरिएको छ।

मलको अबैध भण्डारण, उच्च मूल्यमा बिक्री तथा कालोबजारी रोक्न जिल्ला प्रशासन कार्यालय, कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बुधवार (२०८२ साल साउन २८ गते) पर्सा जिल्ला सखुवा प्रसौनी गाउँपालिका–२ कटैयामा विशेष अनुगमन सञ्चालन गरेको हो।

अनुगमनको क्रममा प्राप्त गोप्य सूचनाका आधारमा ढोडी अन्सारी (युनुस अन्सारी)को घरमा खानतलासी गर्दा नेपाल सरकारको अनुदानमा प्राप्त रासायनिक मल ठूलो मात्रामा संचित गरी राखिएको पाइएको छ। उक्त स्थानबाट DAP मल २७ बोरा र पोटास मल २३ बोरा गरी जम्मा ५० बोरा बरामद गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

त्यसैगरी, सोही गाउँपालिका–२ कटैयामै रहेको ‘साह महमद मल खाद भण्डार’का सञ्चालक साह महमद अन्सारीको घरमा लुकाइछिपाइ राखिएको ९ बोरा DAP मल, १८ बोरा पोटास मल र ११४ बोरा SSP (फास्फेट मल) समेत नियन्त्र‌णमा लिइएको छ। यसरी दुवै स्थानबाट गरी जम्मा १७३ बोरा रासायनिक मल बरामद गरिएको हो।

बरामद गरिएका मलहरू नेपाल सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने मलहरू रहेको र ती मलहरू बढी मूल्यमा बिक्री वितरण गर्नका लागि भण्डारण गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार बरामद गरिएको मल आवश्यक कानूनी कारबाहीका लागि सम्बन्धित निकायलाई बुझाइएको छ। प्रशासनले मलको कालोबजारी र अबैध भण्डारणमा संलग्न जो–कोहीलाई कानूनी दायरामा ल्याइने चेतावनी दिएको छ।

सरकारले किसानलाई समयमा र सहज रूपमा मल आपूर्ति गर्न निरन्तर प्रयास गरिरहेका बेला यस्तो प्रकारको कालोबजारी किसान र कृषि क्षेत्रको विकासका लागि बाधक भएको भन्दै नियन्त्रणका लागि थप कडा कारबाही गरिने अधिकारीहरूले बताएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *