ओलीको आरोप : “यो सरकार तोडफोड र आगजनीबाट बनेको”

समाचार

काठमाडौं, असोज ११ ।
नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट नभई तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् ।

शनिबार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा देश र जनताको हितका लागि मात्रै काम गरेको दाबी गर्दै अहिलेको सरकारले पारदर्शिता देखाउन चुनौती दिएका छन् ।

“मैले बोलेका कुरा, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन सबै रेकर्डमा छन् । सरकारले साहस देखाउने हो भने ती सार्वजनिक गरोस्,” ओलीले भने, “एमालेले कहिल्यै छलछाम वा षड्यन्त्रका गतिविधि गर्दैन, पारदर्शिता र सुशासनकै पक्षमा काम गर्छ ।”

जेन-जी आन्दोलनका क्रममा भएको गोलीकाण्डबारे ओलीले आफूले कहिल्यै गोली चलाउने आदेश नदिएको स्पष्ट पारे । उनले भने, “गोली चल्यो भनेपछि मैले सोधेको थिएँ– कहाँ हानियो ? टाउको र छातीमा! प्रहरीलाई त घुँडामुनि मात्र हान्ने आदेश हुन्छ, यस्तो किन भयो भनेर तत्कालै चासो लिएको थिएँ ।”

ओलीले आन्दोलनमा उठेका भ्रष्टाचारविरुद्धका मागलाई गम्भीरतापूर्वक लिएको तर देश त्यस दिशामा अघि बढ्न नसकेको बताए । उनले छानबिन आयोगले सत्य तथ्य बाहिर ल्याउने विश्वास पनि व्यक्त गरे ।

सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रवृत्तिप्रति आक्रोश व्यक्त गर्दै उनले भने, “देशभक्तिको पक्षमा बोल्यो भने झोलेको ट्रेन्ड चलाइन्छ । यस्तो दुरुपयोग तत्काल रोकिनुपर्छ ।”

प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि ओली पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् । कार्यक्रममा उनले आफ्नो नेतृत्वमा मुलुकले विकासमा ऐतिहासिक प्रगति गरेको दाबी गर्दै मुलुकलाई फेरि सुशासन, शान्ति र संवैधानिक लोकतान्त्रिक धरातलमा फर्काउने प्रतिबद्धता व्यक्त गरे ।

पासपोर्ट रोक्काबारेको हल्ला बारे ओलीले भने, “हामीलाई विदेश भाग्ने हैन, यो हाहाको सरकारलाई देश जिम्मा लगाएर पन्छिने कुरा त कल्पना पनि गर्न सकिँदैन ।”

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *