वीरगञ्ज, २२ असोज ।
सरकारले तोकेको जिम्मेवारी पूरा गर्नुका साथै मानवीय मूल्य र सामाजिक उत्तरदायित्व बुझ्दै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, मुख्यालय पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले नेतृत्व गरेको टिम हाल पर्सा जिल्लामा जनसेवामुखी प्रहरीको उत्कृष्ट उदाहरण बनेको छ।
छोटो समयमै मृदुभाषी स्वभाव, विनम्र व्यवहार र जनमुखी कार्यशैलीका कारण एसपी भट्ट पर्सावासीको मनमा स्थान बनाउन सफल भएका छन्। उनले नेतृत्व गरेको गणले दशैंको अवसरमा पनि भिन्न उदाहरण प्रस्तुत गरेको छ — यस वर्षको विजया दशमी सशस्त्र प्रहरी गण नं. १३ ले विभिन्न दलित बस्तीमा पुगेर स्थानीय बालबालिकासँग मिलेर मनाएको हो।

गणपति भट्टको टिमले पर्साको ग्रामीण भेग लहावरथकरी नाकास्थित दलित बस्तीमा पुगेर १०० जोर नयाँ लुगा वितरण गरेको थियो। साथै, बालबालिकाका लागि खाजासहित सामूहिक भोजको पनि व्यवस्था गरिएको थियो। दशमीको टीकाको दिन वीरगञ्ज महानगरपालिका–१६ स्थित अर्को दलित बस्तीमा स्थानीय बालबालिकालाई स्टेशनरी सामग्री वितरण गर्दै त्यहाँका परिवारहरूलाई मासु–चिउराको भोज खुवाइएको थियो।
एसपी भट्टले भने, “सशस्त्र प्रहरीको कर्तव्य केवल सुरक्षासम्म सीमित छैन। मानवीयता, सहानुभूति र आपसी एकताको सन्देश फैलाउनु पनि हाम्रो जिम्मेवारी हो।”
गत केही दिनयता परेको अविरल वर्षाका कारण वीरगञ्जका विभिन्न वडाहरू डुबानमा परे पनि सशस्त्र प्रहरीको सक्रियता सर्वत्र प्रशंसनीय रह्यो। गुल्म नं. १३ का सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले बाढीग्रस्त क्षेत्रमा फसेकी एक गर्भवती महिलालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको घटना राष्ट्रिय स्तरमै चर्चित बन्यो।
यस वर्षको अविरल वर्षाले ल्याएको संकटको समयमा सुरक्षाकर्मीको तीव्र गतिमा गरिएको उद्धार, राहत र सहायताले जनतामा “जिम्मेवार सरकार” को अनुभूति दिलाएको छ। गणपति भट्टले विपद् व्यवस्थापनदेखि सीमा सुरक्षासम्मको जिम्मेवारी पूरा गर्न आफू सदैव प्रतिबद्ध रहेको बताएका छन्।
उनका अनुसार, “सार्वभौमिकताको सवालमा सबैभन्दा बढी जिम्मेवारी सीमा क्षेत्रमा बस्ने नागरिकहरूको हुन्छ। हामी सशस्त्र प्रहरीहरू निरन्तर सीमाको रक्षामा खटिरहेका छौं। यो दशैं विपन्न दलित परिवारसँग मनाउन पाउनु मेरो लागि सौभाग्यको विषय हो।”
गणपति भट्टको नेतृत्वमा सञ्चालन भएका सामाजिक, मानवीय र सुरक्षामुखी कार्यहरूले पर्सामा सशस्त्र प्रहरी बलप्रति जनविश्वास अझ मजबुत भएको देखिएको छ। वीरगञ्जवासीले भट्ट र उनको टिमको कार्यशैलीलाई “नयाँ पुस्ताको जनमुखी प्रहरीको परिचय” का रूपमा लिएका छन्।
