बिरगंज, १२ कार्तिक ।
पर्सा–१ का निवर्तमान सांसद तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले बीरगंज महानगरपालिका–१६ इनर्वामा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिताको मंगलबार (कार्तिक ११ गते) उद्घाटन गरेका छन्।
इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्साद्वारा शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै यादवले परम्परागत खेल कुस्तीलाई संरक्षण र प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताहरू अत्यन्त जरुरी रहेको बताए।
उनले भने, “कुस्ती हाम्रो सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा हो। यसले युवा पुस्तामा अनुशासन, साहस र आत्मविश्वासको विकास गर्छ। यस्ता प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रोत्साहन दिँदै कुस्ती खेललाई अझ सशक्त बनाउन मद्दत पुर्याउनेछन्।”
उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, खेलप्रेमी तथा ठूलो संख्यामा दर्शकहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजक समितिले जनाएको छ।
