मेयर सिंहको आह्वान : “सिर्सिया सफाइलाई अब पर्वसँग होइन, चेतनासँग जोडौं”

समाचार

बीरगंज, १२ कार्तिक।
बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको प्रदूषण समस्या केवल छठ पर्वमा सम्झने होइन, वर्षभर सचेत र सक्रिय रहँदै स्थायी समाधान खोज्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिँदै उनले भनेका छन् —
“‘डुब्दै गएपछि डाँडो सम्झने’ उखानझैं, सिर्सियाको व्यथा पनि यस्तै नियतिको शिकार बन्दै गएको छ। छठ आउँदा मात्र हामी सिर्सिया नदीको प्रदूषण सम्झिन्छौं, अनि अर्को वर्ष फेरि त्यही कुरा दोहोर्याउँछौं।”

मेयर सिंहका अनुसार, उनले पदभार सम्हालेको ४० महिनादेखि नै सिर्सिया सफाइका लागि निरन्तर आवाज उठाउँदै आएका छन्। उनले थपे —
“केवल कानूनी हैसियतबाट मात्र होइन, नैतिक जिम्मेवारी बोध गर्दै मैले फोहोर फ्याँक्ने केही उद्योगहरूविरुद्ध प्रतिवादस्वरूप दवाब सिर्जना गरेको छु। तर केही उद्योगको लापरवाहीका कारण सम्पूर्ण उद्योग समुदाय नै बदनाम हुनुपरेको छ, जुन दुर्भाग्यपूर्ण छ।”

उनले अहिलेको आवश्यकता सिर्सियालाई छठको अवसरमा मात्र होइन, हरेक दिन सम्झने संस्कार विकास गर्ने भएको बताए। सिंहले युवाहरू सिर्सिया बचाउनका लागि सक्रिय हुँदै गएको देख्दा आफूले नयाँ ऊर्जा पाएको बताए।

“अहिले जागेको चेतनालाई स्थायी बनाउन निरन्तर दवाब र सहभागिता अपरिहार्य छ,” उनले लेखेका छन्, “अबको आवश्यकता भनेको सिर्सिया सफाइ अभियानलाई पर्वसँग होइन, चेतनासँग जोड्ने हो।”

मेयर सिंहले अन्त्यमा सबैलाई साझा संकल्पका साथ सिर्सिया नदी पुनर्जीवित बनाउन आग्रह गर्दै भने —
“सिर्सिया सफा बनाउन महानगर मात्र होइन, हामी सबैको सामूहिक प्रयास जरुरी छ। आउँ, हामी सबै एक ढिक्का भई सिर्सिया नदीलाई पुनः जीवन्त बनाऔं।”

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *