बारा, १२ कार्तिक ।
वीरगंज सामुदायिक आँखा अस्पतालले बाराको फेटा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। स्थानीय बासिन्दाको स्वास्थ्य सुलभ बनाउन उद्देश्यमूलक रूपमा आयोजित उक्त शिविरमा सयौँ नागरिकले आँखा परीक्षण गराएका छन्।
अस्पतालका सञ्चालक महेश सिंह धामीकाअनुसार फेटा गाउँपालिका–५ फुलवारियामा आयोजित शिविरमा कुल २७० जनाको आँखा परीक्षण गर्दा ५५ जनामा मितियाबिन्दु (Cataract) संक्रमण पाइएको छ। त्यस्तै, फेटा गाउँपालिका–३ बतरामा सञ्चालन गरिएको अर्को शिविरमा १०६ जनामध्ये ३९ जनामा मितियाबिन्दु देखिएको धामीले जानकारी दिए।
धामीका अनुसार शिविरमा मितियाबिन्दुका बिरामीहरूलाई थप उपचारका लागि वीरगंज सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाको सुविधा उपलब्ध गराइनेछ। उनका भनाइमा, ग्रामीण क्षेत्रमा आँखा सम्बन्धी रोगबारे सचेतना अभावका कारण मितियाबिन्दुका बिरामीको संख्या बढ्दो छ, र यस्ता निःशुल्क शिविरहरूले समुदायमा ठूलो राहत पुर्याउने अपेक्षा गरिएको छ।
फेटा गाउँपालिकाका स्थानीय बासिन्दालाई आँखा जाँच शिविरले निकै राहत मिलेको बताउँदै अस्पताल र स्वास्थ्यकर्मीहरूप्रति युवा नेता तथा समाजसेवी उमेश दुबेले विशेष धन्यवाद व्यक्त गरेका छन्।
