ट्राफिक प्रहरीले जरिवानाबाट २५% भत्ता पाउँछ भन्ने दाबी भ्रामक : नेपाल प्रहरी

समाचार

काठमाडौं, ३१ असार — नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने समाचार तथा सामाजिक सञ्जालमा फैलिएका दाबी पूर्ण रूपमा भ्रामक, तथ्यहीन र निराधार रहेको स्पष्ट पारेको छ।


नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक तथा केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिमा ट्राफिक नियम उल्लंघनबापत संकलन हुने सम्पूर्ण जरिवाना सिधै नेपाल सरकारको राजस्व खातामा जम्मा हुने र त्यसबापत ट्राफिक प्रहरीले कुनै पनि अतिरिक्त सुविधा वा विशेष भत्ता प्राप्त गर्ने कानुनी व्यवस्था नरहेको जनाएको छ।

प्रहरीले तथ्य पुष्टि नगरी अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित हुँदा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने जनाएको छ।

नेपाल प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाको पछि नलाग्न सम्पूर्ण सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई अनुरोध गर्दै समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गरी जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *