वीरगञ्ज, ३१ असार।
पर्सामा सशस्त्र प्रहरीले तस्करी नियन्त्रण अभियानलाई थप आक्रामक बनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियानअन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जले डिएसपी विकास अधिकारीको कमान्डमा लगातार छापामारी गर्दै भन्सार छली गरी ल्याइएका तथा अवैध रूपमा ओसारपसार गर्न लागिएका सामानहरू बरामद गर्न सफल भएको छ।
सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गरिएको निगरानी र योजनाबद्ध कारबाहीका कारण पछिल्ला केही दिनयता तस्करी सञ्जालमाथि निरन्तर दबाब सिर्जना भएको छ। सीमा क्षेत्रका विभिन्न स्थानमा सञ्चालन गरिएका अपरेशनमा लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद भएका छन्।
यसैक्रममा मिति २०८३ असार ३१ गते बिहान १०:१५ बजे जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१६ फुलबारी टोलस्थित उषा अधिकारीको तीनतले पक्की घरमा भारतबाट भन्सार छली गरी ल्याइएका सामानहरू भण्डारण गरिएको भन्ने विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमान्डमा सीमा सुरक्षा गुल्म मुख्यालय वीरगञ्जबाट खटिएको टोली तथा वीरगञ्ज भन्सार कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले छापामारी गरेको थियो।

उक्त घरका ११ वटा कोठामा गरिएको खानतलासीका क्रममा २ हजार ८४८ मिटर टेबल पोस (टेन्ट टेबलमा प्रयोग हुने कटन कपडा), १३ थान रेडिमेड टेबल पोस तथा ३५ प्याकेट एयर कन्डिसनर स्ट्यान्ड बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको अनुमानित मूल्य करिब ३ लाख ५० हजार रुपैयाँ रहेको छ। आवश्यक कानुनी कारबाहीका लागि सबै सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।
त्यसअघि असार ३० गते राति करिब ९:०० बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार टोल क्षेत्रमा सीमा सुरक्षा गुल्म वीरगञ्जबाट परिचालित गाडी मोबाइल टोलीले भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा राखिएको ३३ कार्टुन (करिब ६२० किलोग्राम) स्याउ बरामद गरेको थियो। बरामद स्याउको अनुमानित मूल्य ६३ हजार ५०० रुपैयाँ रहेको छ। उक्त स्याउ पनि असार ३१ गते आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
त्यसैगरी, असार ३० गते नै डिएसपी विकास अधिकारीकै कमान्डमा वीरगञ्ज महानगरपालिका–१ छपकैया सुकुम्बासी टोलमा गरिएको अर्को विशेष छापामारीमा भारतबाट भन्सार छली गरी ल्याइएका करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्यका कपडाहरू बरामद गरिएको थियो। विशेष सूचनाका आधारमा गरिएको उक्त कारबाहीलाई पनि तस्करी नियन्त्रण अभियानको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

सशस्त्र प्रहरी बल नं. १३ गण पर्साले पछिल्ला दिनहरूमा सीमा क्षेत्रमा गस्ती, निगरानी र सूचनाको परिचालनलाई थप प्रभावकारी बनाएको जनाएको छ। तस्करीमा संलग्न समूहहरूको गतिविधि नियन्त्रण गर्न नियमित मोबाइल गस्ती, आकस्मिक चेकजाँच तथा गोप्य सूचनाका आधारमा छापामारी अभियानलाई निरन्तरता दिइएको बताइएको छ।
सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा हुने भन्सार छली, अवैध आयात–निर्यात तथा राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी प्रतिबद्ध रहेको छ। उनले तस्करीमा संलग्न व्यक्ति वा समूहविरुद्ध कानुनबमोजिम कडा कारबाही गरिने तथा यस्ता अभियान आगामी दिनमा अझ प्रभावकारी ढंगले सञ्चालन हुने जानकारी दिए।
सीमावर्ती क्षेत्र वीरगञ्जमा पछिल्ला दिनहरूमा लगातार भइरहेको यस्ता कारबाहीले तस्करी सञ्जालमाथि सुरक्षा निकायको दबाब बढ्दै गएको देखिएको छ। विशेष सूचनाका आधारमा सञ्चालन गरिएका अपरेशनहरू सफल बन्दै जाँदा भन्सार छलीमार्फत हुने अवैध व्यापार नियन्त्रणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
