वीरगञ्ज, २५ कार्तिक।
मधेस प्रदेशमा प्रदेश प्रमुखको असंवैधानिक कदम र त्यसकै आधारमा गैर–संवैधानिक रूपमा गरिएको मुख्यमन्त्री नियुक्तिको विरोधमा जनमत पार्टी पर्साले वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरेको छ।
विरोधसभामा बोल्दै जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले मधेश प्रदेशको नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको असंवैधानिक नियुक्ति भएको आरोप लगाएका छन् ।सरार्फले संघीयताको मूल भावना र मधेसको अधिकारमाथि गरिएको प्रहार सह्य नहुने चेतावनी दिएका छन्। उनले भने, “संविधानले दिएको अधिकारलाई कुण्ठित गरेर प्रदेशलाई कमजोर बनाउने प्रयास भइरहेको छ। मधेसको आवाजलाई फेरि दबाउने खेल सुरु भएको छ, तर यो खेल अब सफल हुन दिइने छैन।”
उनले गैर–संवैधानिक रूपमा सरकार गठन गर्ने निर्णय तुरुन्त सच्याउनुपर्ने माग गर्दै भने, “यदि यो कदम फिर्ता भएन भने जनमत पार्टी अझ कडा आन्दोलनमा उत्रिनेछ। मधेसको अधिकार र संघीयताको रक्षा गर्न हामी कुनै पनि हालतमा पछि हट्दैनौं।”
प्रदर्शनका क्रममा कार्यकर्ताहरूले नाराबाजी गर्दै प्रदेश प्रमुख र मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरोधमा तीव्र असन्तुष्टि जनाएका थिए। केही समय प्रहरी र प्रदर्शनकारीबीच तनाब र धक्का–मुक्का समेत भएको थियो।
जिल्ला अध्यक्ष सरार्फको नेतृत्वमा सम्पन्न विरोध कार्यक्रममा केन्द्रीय सदस्य श्याम गुप्ता, सीमा गुप्ता, मालती कुशवाहा, प्रदेश सदस्य राजनारायण मिश्र, क्षेत्रीय संयोजक डा. मनोज सरार्फ, नेताहरू भुपेन्द्र साह, अमरनाथ राठौर, रुक्साना खातुन, युवा नेताहरू मनोज साह, धिरेन्द्र पन्जियार, सिकेन्द्र राम, संजय सिंह, रोशन पाण्डे लगायतको उपस्थिति रहेको थियो।
