बीरगञ्ज, १४ मंसिर ।
नेपालमा किसानहरूले उत्पादन गरेको कृषिजन्य उपजलाई उचित मूल्य नपाइने गुनासो निरन्तर बढिरहेकै बेला भारतबाट अवैध रुपमा भित्रिने फलफूल तथा तरकारीको प्रवाह अझै रोकिएको छैन । बजारमा अवैध आयातित कृषि सामग्रीले स्थान ओगटिरहेपछि स्थानीय उत्पादक किसान थप मारमा परिरहेका छन्।
यसैबीच, अवैध आयात नियन्त्रणका लागि सक्रिय सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साले विशेष सूचनाको आधारमा गरेको छापामारीमा ठूलो परिमाणमा अवैध केरा बरामद गरेको छ। मिति २०८२।०८।१३ गते खटिएको सीमा सुरक्षा गुल्म बीरगञ्ज र बीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले बीरगञ्ज महानगरपालिका–१५, भिष्वास्थित एन.एम.सी. रोडमा रहेको मनिस फ्रुट सप्लायर्सको गोदामबाट १५० क्यारेट केरा नियन्त्रणमा लिएको हो।
सम्भु कुमार गुप्ताले भारतबाट भन्सार छली ल्याई गोदाममा भण्डारण गरिरहेको अवस्थामा उक्त केरा नियन्त्रित गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण पर्साका सूचना अधिकारी स.प्र.ना.उ. विश्वराज योन्जनले जानकारी दिए। बरामद गरिएको सम्पूर्ण मालसमान आवश्यक प्रक्रियाका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए।
नेपालका किसानहरूले आफ्नै उत्पादनको उचित मूल्य नपाउनुमा अवैध तरिकाले आयात हुने विदेशी कृषि सामग्री मुख्य कारण बनेको गुनासो वर्षौंदेखि उठ्दै आएको छ। स्वदेशी उत्पादनलाई बजारमै प्रतिस्पर्धा गर्न नदिई अवैध तरिकाले भन्सार छली गरिएका फलफूल तथा तरकारी बजारमा ठूला मात्रामा बिक्री–वितरण हुने गरेका कारण किसानहरू निराश बनेका छन्।
यसै समस्यालाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल पर्साले सीमा क्षेत्रमा अवैध ओसारपसार तथा चोरी–तस्करी नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएको स्पष्ट पारेको छ। सशस्त्र प्रहरी पर्साका एसपी पुरन चन्द्र भट्टका अनुसार, सीमा अपराध नियन्त्रण गर्दै राजश्व अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले आगामी दिनमा अझ थप कडाइ र प्रभावकारी कारबाही अघि बढाइनेछ।
भन्सार छली गरी ल्याइने कृषिजन्य वस्तुहरूको कारोवार रोक्न उचित नियमन, प्रभावकारी चेकजाँच र मजबूत अनुगमन आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। अवैध आयात नियन्त्रण हुँदै गए किसानको उत्पादनले उचित मूल्य पाउने आशा किसान समुदायले व्यक्त गरेका छन्।
