काठमाडौँ, १३ मंसिर ।
जिल्ला काठमाडौँको नागार्जुन नगरपालिका–६ रामकोटस्थित सिभिल होम नजिक टेलर सञ्चालन गर्दै आएका एक व्यक्तिले कोठामा अवैध हातहतियार लुकाइ राखेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सोही कोठामा खानतलासी गर्दा पेस्तोलसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२।०८।११ गते साँझ ५:३० बजेको समयमा गरिएको खानतलासी अभियन्तर्गत S/N 55009770 T-54 Nepal Police लेखिएको एक थान पेस्तोल, सोही पेस्तोलको एक थान म्याग्जिन र ३११२४ लेखिएको ८ राउन्ड गोली बरामद गरिएको हो।
हातहतियारसहित पक्राउ परेका व्यक्ति जिल्ला तनहुँ, भानु नगरपालिका–९ घर भएका ४१ वर्षीय मनोज कुमार सुन्दास रहेको जनाइएको छ। उनलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताएका छन्।
