पर्सा ,१८ मंसिर ।
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मिति, समय र स्थानबाट चोरी भएको तथा हराएको अवस्थामा फेला परेका ३४ थान विभिन्न कम्पनीका मोबाइल फोनहरू खोजतलास गरी उनी–उनीहरूको वास्तविक धनीलाई जिम्मा बुझाएको जनाएको छ।

प्रहरीका अनुसार दर्ता भएका उजुरी र अनुसन्धानको आधारमा ती मोबाइल फोनहरू पत्ता लगाइएका हुन्। फेला परेका मोबाइलहरू आवश्यक प्रक्रियासहित धनीहरूलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रहरीले नागरिकको सम्पत्ति सुरक्षाका लागि निरन्तर निगरानी, अनुसन्धान र तकनीकी प्रयोगलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरेको छ।
