वीरगन्ज, माघ २३ ।
पर्सा क्षेत्र नं. १ बाट जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्जको गरिमा र पहिचान जोगाउँदै शहरको शिर ठाडो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
वीरगन्ज महानगरपालिका वडा नं. २ स्थित घुसुकपुरमा आयोजित भेटघाट, संवाद तथा घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार सरार्फले वीरगन्जको विकास, स्थानीय सरोकारका मुद्दा तथा मधेसको अधिकार र पहिचानको सवालमा आफू निरन्तर संघर्षरत रहेको बताए। उनले संसद तथा सम्बन्धित निकायहरूमा वीरगन्ज र वीरगन्जवासीका आवाज सशक्त रूपमा उठाउने प्रतिवद्धता जनाए।
उम्मेदवार सरार्फले देश र मधेसको दीर्घकालीन निकासका लागि स्पष्ट र दूरदर्शी भिजन जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गर्दै हर्न छापमा मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरे।
कार्यक्रममा जनमत पार्टीका नेतृ विध्या गुप्ता, अनिता रौनियार, नजमा खातुन, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उम्मेदवार सरार्फले जनताको अपेक्षा र समस्यालाई नीति निर्माणको केन्द्रमा राखेर काम गर्ने विश्वास दिलाएका थिए।
