काठमाडौं,२८ माघ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान तथा बधाई व्यक्त गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रममा उहाँले पुरस्कृत प्रहरी कर्मचारीहरूलाई संगठनका तर्फबाट सम्मान गर्नुभएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोगमा कार्यरत ३५ जना प्रहरी कर्मचारीहरूलाई उत्कृष्ट अनुसन्धान कार्यसम्पादनका आधारमा पुरस्कृत गरिएको थियो। सोही अवसरमा आयोजित कार्यक्रममा आईजीपी कार्कीले अनुसन्धान क्षेत्रमा व्यावसायिक ज्ञान, दक्षता र लगनशीलताका साथ उत्कृष्ट भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

आईजीपी कार्कीले अख्तियारको उद्देश्य अनुरूप सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रहरी कर्मचारीहरूले खेलेको भूमिकालाई महत्वपूर्ण बताउँदै आगामी दिनमा समेत थप व्यावसायिकता, पारदर्शिता र इमानदारिताका साथ कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो। उहाँले संगठनको गरिमा उच्च राख्दै राष्ट्र र नागरिकप्रति उत्तरदायी भई काम गर्न सबैलाई आग्रह गर्नुभयो।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।
