पर्सा, २८ माघ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको विशेष ‘फैसला कार्यान्वयन अभियान’ अन्तर्गत बैंकिङ कसूर तथा लागू औषध मुद्दाका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार प्रमिला गिरीको जाहेरीले वादी नेपाल सरकार विरुद्ध जिल्ला चितवन साबिक शुक्रनगर गाविस वडा नं. २ (हाल भरतपुर महानगरपालिका वडा नं. २५) बस्ने ३६ वर्षीय अपिल बरालविरुद्ध बैंकिङ कसूर मुद्दा दर्ता भएको थियो। उक्त मुद्दा नं. ०८०–८१–०४२८ मा सम्मानित पर्सा जिल्ला अदालतबाट उनलाई रु. १५ लाख ७२ हजार जरिवाना तथा ३ दिन कैद सजाय सुनाइएको थियो।
फैसला पश्चात फरार रहेका बराललाई मिति २०८२ साल माघ २८ गते बिहान करिब ६:३० बजे जिल्ला चितवन, भरतपुर महानगरपालिका वडा नं. ९ स्थित बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित पर्सा जिल्ला अदालतमा दाखिला गरेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन्।
यसैगरी, अर्को फरार प्रतिवादी जिल्ला पर्सा कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बस्ने ४५ वर्षीय ललन पासवानलाई पनि प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रतिवेदनको जाहेरीले वादी नेपाल सरकार रहेको लागू औषध गाँजा तथा चरेश सम्बन्धी मुद्दा नं. ०७७–१–०३३३ मा उनलाई सम्मानित पर्सा जिल्ला अदालतले मिति २०७९ साल कात्तिक २२ गते १ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो।
फैसला कार्यान्वयनबाट बच्न फरार रहेका पासवानलाई मिति २०८२ साल माघ २७ गते बेलुका करिब ७:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित सडकखण्डबाट पक्राउ गरिएको हो। पक्राउ पश्चात उनलाई पनि अदालतमा पेश गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
फैसला कार्यान्वयनमा कडाइ
जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीहरूलाई खोजी–खोजी पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ। एसपी पाठकले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार अभियुक्तहरूलाई कानूनको दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइरहेको प्रहरी स्रोतले जनाएको छ।
प्रवक्ता बस्नेतका अनुसार, “अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति नदिइने नीति अनुरूप विशेष टोली परिचालन गरिएको छ। आगामी दिनमा पनि फरार प्रतिवादीविरुद्धको अभियान अझ सशक्त बनाइनेछ।”
कानूनी राज्य स्थापना तर्फ प्रहरीको पहल
अदालतको फैसला कार्यान्वयन प्रभावकारी नहुँदा कानूनी शासन कमजोर हुने अवस्था आउन सक्ने भएकाले पर्सा प्रहरीले यस अभियानलाई उच्च प्राथमिकतामा राखेको देखिन्छ। पछिल्लो समय पर्सामा बैंकिङ कसूर र लागू औषधसम्बन्धी मुद्दाहरू बढ्दै गएको सन्दर्भमा प्रहरीले फरार अभियुक्तलाई नियन्त्रणमा लिन सक्रियता बढाएको हो।
प्रहरीको यो कदमले कानून उल्लंघन गर्ने तथा अदालतको आदेश अवज्ञा गर्ने व्यक्तिहरूलाई स्पष्ट सन्देश दिएको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले सर्वसाधारणलाई कुनै पनि आपराधिक गतिविधि वा फरार अभियुक्त सम्बन्धी सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ।
