रुङ्टाको घरदैलो अभियानमा जनसमर्थन उकालो, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ मा समर्थन लहर तीव्र

राजनीति समाचार

पर्सा, १ फागुन ।पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाको घरदैलो तथा भेटघाट अभियानले तीव्रता लिएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–३२ टेडामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणले सार्वजनिक रूपमा रुङ्टालाई समर्थन जनाएका छन्।

मतदातासँगको प्रत्यक्ष संवादका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रले अब इमानदार, जवाफदेही र जनतासँग निरन्तर सम्पर्कमा रहने नेतृत्व चाहेको बताएका छन्। विगतमा गरिएका प्रतिबद्धता पूरा नभएको गुनासो गर्दै उनीहरूले यसपटक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारमा ठोस उपलब्धि दिन सक्ने उम्मेदवारलाई साथ दिने स्पष्ट धारणा व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङ्टाले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पूर्व नेतृत्वले जनसेवाभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोप लगाए। उनले हरेक चुनावमा आकर्षक नाराहरू प्रस्तुत गरिए पनि व्यवहारमा परिणाममुखी काम हुन नसकेको टिप्पणी गरे। चुनावपछि जनतासँगको सम्बन्ध कमजोर हुने प्रवृत्तिले लोकतन्त्रप्रति निराशा बढाएको उनको भनाइ थियो। साथै, सामाजिक सद्भाव र भाइचारालाई कमजोर बनाउने गतिविधि बढ्दै गएको उल्लेख गर्दै उनले एकता र सहकार्यको राजनीति आवश्यक रहेको बताए।

रुङ्टाले समावेशी विकास, पारदर्शी प्रशासन र दीर्घकालीन योजनासहित क्षेत्रको समग्र उन्नतिको स्पष्ट खाका प्रस्तुत गरेका थिए। “जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर परिणाममुखी नेतृत्व दिन्छु,” उनले प्रतिबद्धता जनाए।

कार्यक्रममा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले आगामी निर्वाचनमा ‘रुख’ चुनाव चिन्हमा मतदान गरी रुङ्टालाई विजयी बनाउन एकजुट हुनुपर्ने धारणा राखे। घरदैलो अभियानमा देखिएको उत्साह, सक्रिय सहभागिता र आपसी विश्वासले पर्सा क्षेत्र नं. १ मा कांग्रेसको संगठन थप सुदृढ बन्दै गएको सहभागीहरूको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल महिला संघ पर्साकी किरण शर्मा लगायत नेपाल विद्यार्थी संघ, तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *