पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान तीव्र : ११० किलो गाँजा बरामद

समाचार

पर्सा, २९ माघ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भएको छ। प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत पर्सा प्रहरीले बेवारिसे अवस्थामा ११० किलो गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार माघ २८ गते राति करिब ११:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेल तथा प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्दु राय यादवको संयुक्त कमान्डमा खटिएको टोली नियमित गस्तीमा रहेको थियो। गस्तीका क्रममा जिल्ला पर्सा पकाहा मैनपुर गाउँपालिका वडा नं. १ धोरेस्थित भुस राखिएको एक स्थानमा शंकास्पद गतिविधि देखिएपछि टोलीले खोजतलास गरेको थियो।

खोजतलासका क्रममा भुसको थुप्रोभित्र लुकाई–छिपाई राखिएको अवस्थामा रातो प्लास्टिकका ११ वटा पोकामा करिब ११० किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा कसले राखेको हो भन्नेबारे हालसम्म खुल्न नसकेको र घटनास्थलमा कोही व्यक्ति फेला नपरेकाले बेवारिसे अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले स्पष्ट पारेको छ।

बरामद गरिएको लागूऔषधलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन ईलाका प्रहरी कार्यालय पोखरियामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। साथै, उक्त गाँजा तस्करी प्रयोजनका लागि लुकाई राखिएको हुनसक्ने आशंकामा सम्बन्धित व्यक्तिको खोजी तथा अनुसन्धान तीव्र पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रहरी उपरीक्षक पाठकले जिल्लामा लागूऔषध ओसारपसार, भण्डारण तथा कारोबार नियन्त्रण गर्न विशेष रणनीति अपनाइएको बताउँदै यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने चेतावनी दिएका छन्। उनले सीमा नाका र ग्रामीण क्षेत्रलाई लक्षित गरी नियमित गस्ती, गोप्य सूचनाको आधारमा छापा तथा निगरानी कार्यलाई थप प्रभावकारी बनाइएको पनि जानकारी दिए।

पर्सा जिल्ला भारतसँग सिमाना जोडिएको क्षेत्र भएकाले लागूऔषध ओसारपसारको जोखिम उच्च रहेको मानिन्छ। पछिल्लो समय प्रहरीले निरन्तर रूपमा लागूऔषध नियन्त्रणमा सक्रियता देखाउँदै आएको छ। यसअघि पनि विभिन्न स्थानबाट गाँजा, चरेस तथा अन्य प्रतिबन्धित पदार्थ बरामद गर्दै आएको पर्सा प्रहरीले यस घटनालाई अभियानको महत्वपूर्ण उपलब्धि मानेको छ।

प्रहरीले सर्वसाधारणलाई लागूऔषध सम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ। समाजलाई लागूऔषधमुक्त बनाउने अभियानमा नागरिकको सहयोग अपरिहार्य रहेको प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *