पर्साको ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो सफलता : छिपहरमाईबाट ८७ किलो गाँजा बरामद, तस्कर खोजी तीव्र

समाचार

पर्सा, ४ जेठ । पर्साको ग्रामीण क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बलले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ४ तुलसी बर्वा स्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको हो।
प्राप्त जानकारीअनुसार खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो। सोही क्रममा खेतभित्र शंकास्पद रूपमा लुकाइ राखिएको गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। लागूऔषध कारोबारमा संलग्न गिरोहको खोजीका लागि सीमावर्ती तथा ग्रामीण क्षेत्रहरूमा निगरानी बढाइएको बताइएको छ।

पछिल्लो समय पर्साका ग्रामीण बस्ती तथा सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारको सञ्जाल फैलिन थालेपछि सशस्त्र प्रहरीले निगरानी तथा चेकजाँचलाई कडा बनाएको छ। विशेषगरी भारतसँग जोडिएका नाका तथा खोलानालाको प्रयोग गरेर लागूऔषध ओसारपसार हुने गरेको सूचनाका आधारमा सर्च अभियानलाई प्रभावकारी बनाइएको जनाइएको छ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीले लागूऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीहरूमा समेत विशेष अभियान सञ्चालन गरिरहेका छन्। उनको नेतृत्वमा पछिल्लो समय लागूऔषध, तस्करी तथा अवैध गतिविधिविरुद्ध निरन्तर अपरेशन सञ्चालन हुँदै आएको छ।

सुरक्षा निकायका अनुसार पर्सामा शहरी क्षेत्र मात्र नभई ग्रामीण क्षेत्रमा समेत लागूऔषध कारोबारको जालो फैलाउने प्रयास भइरहेकाले त्यसलाई ध्वस्त पार्न संयुक्त रूपमा निगरानी बढाइएको छ। सशस्त्र प्रहरीको सक्रियतापछि पछिल्ला दिनहरूमा ठूलो परिमाणमा लागूऔषध बरामद हुने क्रम बढेको देखिएको छ।

स्थानीयवासीले पनि ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध गतिविधिमा कमी आउन थालेको बताएका छन्। प्रहरीले लागूऔषध नियन्त्रणमा समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै शंकास्पद गतिविधिबारे तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *