बाराको कलैयास्थित यातायात कार्यालयद्वारा पारदर्शी सेवा प्रवाह : राजस्व संकलनमा उल्लेखनीय प्रगति

समाचार

रसीद आलम

बारा ,११ जेठ ।बारा जिल्लाको कलैयास्थित यातायात व्यवस्था कार्यालयले पारदर्शिता, जवाफदेहिता र निष्पक्षताको आधारमा प्रभावकारी सेवा प्रवाह गर्दै आएको दाबी कार्यालय प्रमुख अबिन्दर दासले गरेका छन्। कार्यालयले सेवा प्रवाहलाई जनमैत्री, सहज र सुलभ बनाउने उद्देश्यले दैनिकरूपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी लिखित तथा ट्रायल परीक्षा सञ्चालन गर्दै आएको उनले जानकारी दिएका छन्।

हालको अवस्थालाई मध्यनजर गर्दै उनले भने, “हाल लाइसेन्सको माग केही घटेको देखिएको छ, जसका कारण करिब दुई हप्तादेखि परीक्षा साप्ताहिक रूपमा मात्र सञ्चालन भइरहेको छ। तर, सेवाग्राहीलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले परीक्षा प्रक्रिया निरन्तर सञ्चालनमा राखिएको छ।” उनका अनुसार यसबाट सेवाग्राहीहरूलाई लामो समय कुर्न नपर्ने, समयमा सेवा प्राप्त हुने, र दलाल प्रणालीलाई निरुत्साहित गर्ने वातावरण बनाइएको छ।

कार्यालय प्रमुख दासका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनाको पहिलो सातासम्ममा कार्यालयमार्फत ७ करोड ३६ लाख ५७ हजार ६७५ रुपैयाँ राजस्व संकलन गरिएको छ। विशेषतः आफूले कार्यालयको जिम्मेवारी सम्हालेको छोटो अवधिमा— करिब तीन महिनामा— ३ करोड ५५ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको जानकारी दिएका छन्।

उनको अनुमान अनुसार जेठको पहिलो सातासम्ममा मात्र पाँच करोड रुपैयाँ हाराहारीको राजस्व संकलन हुने अपेक्षा गरिएको छ, जसले यो कार्यालयलाई प्रदेशमै उत्कृष्ट राजस्व संकलन गर्ने संस्थाका रूपमा स्थापित गर्ने सम्भावना बढाएको छ।

दासका अनुसार, “कलैयामा यातायात कार्यालय स्थापना भएपछि बारा जिल्लावासीलाई विभिन्न यातायातसम्बन्धी सेवा लिन निकै सहज भएको छ। पहिले बिरगञ्ज वा अन्य ठाउँ जानुपर्ने बाध्यता हटेको छ, जसले समय, श्रम र खर्चमा बचत भएको छ।”

उक्त कार्यालयले प्रविधिमैत्री सेवासहित पारदर्शिता कायम राख्दै सवारी साधन दर्ता, नविकरण, लाइसेन्स वितरण, सवारी पासिङ, कर संकलन लगायतका सेवाहरू प्रभावकारी रूपमा प्रदान गरिरहेको छ। कार्यालयको समर्पित टीम, जनउत्तरदायी व्यवहार र चुस्त कार्यशैलीले सेवाग्राहीहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जनाइएको छ।

यसरी कलैयास्थित यातायात व्यवस्था कार्यालयले छोटो अवधिमै उल्लेखनीय प्रगति गर्दै पारदर्शी सेवा प्रवाहका माध्यमबाट जनविश्वास आर्जन गर्न सफल भएको देखिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *