वीरगञ्ज, फागुन ,४।राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
पन्तले हिजो मनियारी क्षेत्रमा र आज लालपर्सामा व्यापक जनसहभागितासहित घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना, प्रतिबद्धता र विकासका प्राथमिकताबारे जानकारी गराएका थिए। स्थानीय बासिन्दाले पनि उत्साहजनक सहभागिता जनाउँदै पन्तप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।
यसैबीच मनियारी, बेल्बा, ज्योति स्पिनिङ क्षेत्र र श्रीपुरलगायत स्थानबाट हजारौं युवा तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध पेशाकर्मीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले देशमा सुशासन, पारदर्शिता र नयाँ राजनीतिक संस्कार स्थापित गर्ने उद्देश्यले पार्टी रोजेको बताएका छन्।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पन्तले आफूलाई विश्वास गरेर पार्टीमा जोडिनु भएका सम्पूर्ण युवा, पेशाकर्मी तथा जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरे। उनले जनताको विश्वासलाई सम्मान गर्दै क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो अभियानसँगै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पर्सा क्षेत्र नम्बर १ मा जनसमर्थन बढ्दै गएको बताइएको छ।
