वीरगञ्ज, १६ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत १५ गते बिहान करिब ८:३० बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटमा खटिएको प्रहरी चौकी इनर्वाको नियमित चेकिङ टोलीले शंका लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ आवतजावत गर्ने पैदल यात्री तथा सवारी साधनहरूको जाँच गर्ने क्रममा वीरगञ्जबाट रक्सौलतर्फ पैदल जाँदै गरेका तीन जनालाई रोकी कानूनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा उनीहरूको शरीरको पेट तथा छातीको भागमा रातो प्लास्टिकमा निलो डोरीले बाँधी लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा भारत बिहार राज्य बेतिया जिल्लाका ३९ वर्षीय जाबेद अन्सारी, २४ वर्षीय महमद रजिश र २८ वर्षीय महमद गरिब रहेका छन्।
उनीहरूको साथबाट जम्मा ७ केजी ६९२ ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई बरामद लागू औषधसहित नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिएका छन् ।
