पत्रकारमाथि कुटपिट र दुर्व्यवहारप्रति प्रेस काउन्सिलको चिन्ता

समाचार

काठमाडौं,१६ चैत । प्रेस काउन्सिल नेपालले समाचार सङ्कलनका क्रममा पत्रकार तथा सञ्चारकर्मीमाथि भएका कुटपिट, गालीगलौज र दुर्व्यवहारका घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

काउन्सिलद्वारा जारी प्रेस विज्ञप्तिमा नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रतामार्फत हुने उल्लेख गर्दै प्रेसको मर्यादा कायम राख्न सबै पक्षलाई आग्रह गरिएको छ। संविधान तथा कानुनले प्रत्याभूत गरेको स्वतन्त्र र निर्वाध सञ्चारकर्म गर्ने अधिकारमाथि हस्तक्षेप हुने गरी पत्रकारमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहारलाई काउन्सिलले प्रेस स्वतन्त्रताविपरीत कार्यको रूपमा लिएको छ।

विज्ञप्तिमा सञ्चारकर्मका क्रममा पत्रकार तथा सञ्चारकर्मी स्वयंले पनि पेसागत आचरण, मर्यादा र जिम्मेवारीप्रति सचेत हुनुपर्ने उल्लेख गरिएको छ। प्रेस स्वतन्त्रताको प्रयोग गर्दा व्यक्ति वा संस्थाप्रति मर्यादित व्यवहार अपेक्षित रहने काउन्सिलको भनाइ छ। हालका दिनमा केही सञ्चारकर्मी पेसागत आचरणअनुकूल प्रस्तुत नभएको गुनासोसमेत आएको काउन्सिलले जनाएको छ।
काउन्सिलले सत्य, तथ्य र सन्तुलित पत्रकारितामार्फत पेशालाई विश्वसनीय र उत्तरदायी बनाउन जोड दिँदै प्रेस स्वतन्त्रताको दुरुपयोग हुन नदिन सबै सञ्चारकर्मीलाई सजग रहन आग्रह गरेको छ। साथै, सञ्चारमाध्यम तथा पत्रकारमाथि कुनै अवरोध नगर्न र प्रेस स्वतन्त्रताको निर्वाध प्रयोगका लागि अनुकूल वातावरण निर्माण गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

काउन्सिलका सहप्रशासकीय अधिकृत (सहप्रवक्ता/सूचना अधिकारी) रामशरण बोहराले विज्ञप्ति जारी गर्दै प्रेस स्वतन्त्रताको संरक्षण र सम्वर्द्धनमा काउन्सिल सधैं प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *