वीरगञ्ज, १९ चैत।
वीरगञ्जस्थित सीता सुपरस्पेशालिटी अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचारका क्रममा एक ५८ वर्षीया महिलाको मृत्यु भएको छ। मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं. २ निवासी श्रीपती देवीलाई २०८२ चैत १६ गते वीरगञ्ज महानगरपालिका–४, बिर्तामा अवस्थित उक्त अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा बुधबार राति करिब ९ बजे उनको मृत्यु भएको आफन्त रबिन्द्र प्रसाद कुशवाहाले जानकारी दिएका छन्।
कुशवाहाका अनुसार उपचारका क्रममा अस्पतालले आवश्यक सावधानी नअपनाएको तथा लापरबाही गरेको कारण बिरामीको ज्यान गएको दाबी गरिएको छ।

अस्पतालका डा. मुकुन्द जयसवालद्वारा हस्ताक्षरित विवरणअनुसार बिरामीलाई डा. उदय नारायण सिंहले भर्ना गरेका थिए। भर्ना मिति २०८१/१२/१६ उल्लेख गरिएको छ भने उपचारका क्रममा इन्जेक्सन मोनोसेफ १ ग्राम र इन्जेक्सन लासिक्स २० एमजी प्रयोग गरिएको जनाइएको छ। उपचारका क्रममा डा. मुकुन्द जयसवाल (एनएमसी नं. ३७७१३) र स्टाफ नर्स बबिता साह (काउन्सिल नं. ६४९९३) ड्युटीमा रहेको विवरणमा उल्लेख छ।
यसैबीच, अस्पताल प्रशासनका तर्फबाट डा. दीपक चौरसियाले उपचारमा कुनै लापरबाही नभएको दाबी गरेका छन्। उनले अस्पतालले उच्चस्तरीय उपचार सेवा प्रदान गर्दै बिरामीको ज्यान बचाउन सदैव प्रयासरत रहने र लगाइएको आरोप निराधार रहेको बताएका छन्।
उता पर्सा प्रहरीलेले घटनाबारे पुष्टि गर्दै मृत्युको वास्तविक कारणबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
