काठमाडौं,२६ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली १३ दिनपछि थुनामुक्त भएका छन्। प्रहरी नियन्त्रणबाट रिहा भएपछि उनलाई अस्पतालमै आफन्तको जिम्मा लगाइएको छ।
रिहाइपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ओलीले सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले फौजदारी अभियोग लगाई आफूलाई १३ दिनसम्म गैरकानुनी रूपमा नियन्त्रणमा राखेको आरोप लगाएका छन्। उनले मुद्दा चलाउने पर्याप्त आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका छन्।
ओलीले आफ्नो रिहाइका लागि आवाज उठाउने सम्पूर्ण न्यायप्रेमी नागरिक, कानुन व्यवसायी, न्यायकर्मी, विभिन्न राजनीतिक दल तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गरेका छन्। साथै, परमादेश जारी गर्ने सर्वोच्च अदालत प्रति उच्च सम्मान व्यक्त गरेका छन्।
प्रहरी नियन्त्रणमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन तथा उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल परिवारप्रति पनि उनले कृतज्ञता व्यक्त गरेका छन्।
उनले आफ्नो रिहाइको माग गर्दै प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने बताएका छन्। राज्य उदासीन भए पार्टीले उपचार खर्च व्यहोर्ने समेत उनले स्पष्ट पारेका छन्।
स्वास्थ्य अवस्था प्रतिकूल रहेकाले केही दिन अस्पतालमै बसेर उपचार गराउने जानकारी दिँदै उनले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
