काठमाडौं ,१३ बैशाख । नेकपा (एमाले) का नेता महेश बस्नेत ले सुकुम्बासी बस्तीमा भइरहेको हस्तक्षेपप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत वर्तमान कार्यशैलीलाई “विकास” को नाममा युद्धकालीन शैलीमा सञ्चालन गरिएको भन्दै आलोचना गरेका हुन्।
बस्नेतले बस्ती खाली गराउने क्रममा प्रहरी बलको प्रयोग र डोजर परिचालनले पीडितहरूको आवाज दबिएको उल्लेख गर्दै यस्तो अभ्यास कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताए। उनले बन्दुक र डोजरको दबाबबीच नागरिक अधिकार कमजोर बनाइएको आरोपसमेत लगाएका छन्।
उनका अनुसार बालेन्द्र शाह नेतृत्वको कार्यशैलीमा मानवीय संवेदनशीलताको अभाव देखिएको छ। कठोर प्रशासनिक बल प्रयोगलाई प्राथमिकता दिइएको भन्दै उनले यसले सामाजिक न्यायको मूल मर्मलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
बस्नेतले भूमिहीन तथा सुकुम्बासी समस्या समाधानका लागि विगतमा नेकपा (एमाले) सरकारले आयोग गठन गरी दीर्घकालीन पहल गरेको दाबी गरे। त्यस्ता प्रयासलाई बेवास्ता गर्दै वर्तमान डोजर–केन्द्रित कदमलाई “सफलता”का रूपमा प्रस्तुत गर्नु यथार्थभन्दा टाढा रहेको उनको भनाइ छ।
अन्त्यमा उनले विकासको अर्थ केवल संरचना भत्काउनु नभई नागरिकको सम्मान, अधिकार र दीगो समाधान सुनिश्चित गर्नु भएको उल्लेख गर्दै विकल्पबिनाको “डोजर आतंक” समर्थन गर्न नहुने स्पष्ट पारे।
