बिरगंजको रानिघाटमा भुजा मिलमा छापा, दुई गोदाम सिल

समाचार

बिरगंज, १९ फागुन।

पर्साको बिरगंज महानगरपालिका-१० रानिघाटमा रहेको श्री सरस्वती भुजा मिलमा सशस्त्र प्रहरी बल पर्सा र राजस्व अनुसन्धान विभाग पथलैयाले संयुक्त रूपमा छापा मारी दुई गोदाम सिल गरेका छन्।

सशस्त्र प्रहरीका अनुसार सो भुजा मिलमा भन्सार छली गरी भारतबाट अवैध रूपमा चामल ल्याई भुजा (मुरि) उत्पादन भइरहेको सूचनाका आधारमा छापामारी गरिएको हो। प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजका डीएसपी नरेन्द्रसिंह धामीका अनुसार सो मिलमा भन्सार छलिका सामग्रीहरू प्याकेजिङ भइरहेको थियो। साथै, गोदाममा दाल, चामल, मटर, विभिन्न मसला लगायतका सामानहरू भन्सार छलेर भण्डारण गरिएको आशंकामा छापा मारिएको थियो।

छापामारीको क्रममा मिलका सञ्चालकहरू चन्दन कालवार र कृष्ण कालवार फरार रहेका कारण गोदामहरू सिल गरिएको डीएसपी धामीले जानकारी दिए। त्यहाँ म्याद नाघेका अखाद्य वस्तुहरू पनि हुनसक्ने आशंका गरिएको छ।

राजस्व अनुसन्धान विभाग पथलैयाले मिलका कागजातहरू नियन्त्रणमा लिई संयुक्त रूपमा सिलबन्दी गरेको छ भने थप अनुसन्धान तथा आवश्यक कारबाही भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *