पर्सा, १३ जेठ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–१४ स्थित नृसिंह माध्यमिक विद्यालयमा लागुऔषध सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
बुधबार बिहान आयोजित कार्यक्रममा कक्षा ९, १० र ११ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा शिक्षिकासहित ९१ जनाको सहभागिता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा को विशेष उपस्थिति रहेको थियो।
प्रशिक्षण कार्यक्रमलाई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले सहजीकरण गर्दै लागुऔषधको दुष्प्रभाव, कानुनी व्यवस्था, युवापुस्तामा बढ्दो जोखिम तथा त्यसबाट बच्ने उपायबारे विस्तृत जानकारी गराएका थिए।
प्रहरीले विद्यालयस्तरमै सचेतना फैलाएर विद्यार्थीलाई कुलतबाट जोगाउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको जनाएको छ। कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषध विरुद्ध सचेत रहँदै समाजमा समेत सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
