पर्सा, २६ जेठ । भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धक बनाएर राखिएका १६ जना नेपाली नागरिकको सफल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गरिएको छ। उद्धार गरिएकामध्ये ७ जना १८ वर्षमुनिका बालबालिका रहेका छन्।
बर्दीबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाको आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा हरियाणा प्रहरीको क्राइम ब्रान्च मानव तस्करी विरोधी इकाई, भारत सरकारका सम्बन्धित निकाय तथा आफन्त इण्डिया फाउन्डेशनको सक्रिय पहलमा हरियाणाको झज्जर जिल्ला अन्तर्गत मातनहेलस्थित एक पोल्ट्री फार्ममा छापा मारेर उनीहरूको उद्धार गरिएको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा पीडितहरूलाई कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै आकर्षक रोजगारीको प्रलोभन देखाई भारत लगिएको र त्यहाँ बन्धकजस्तै अवस्थामा राखेर शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती श्रममा लगाइएको तथ्य खुलेको छ।
पीडितहरूका अनुसार उनीहरूलाई उचित पारिश्रमिक, आधारभूत सेवा–सुविधा तथा स्वतन्त्र रूपमा आवतजावत गर्ने अधिकारसमेतबाट वञ्चित गरिएको थियो।
उद्धार अभियानपछि सम्बन्धित पोल्ट्री फार्मका सञ्चालक तथा श्रमिक आपूर्तिमा संलग्न ठेकेदारलाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ। साथै पीडितहरूले पाउनुपर्ने पारिश्रमिकबापत करिब दुई लाख रुपैयाँ उपलब्ध गराइएको बताइएको छ।
उद्धार गरिएका सबै नेपाली नागरिकलाई आवश्यक संरक्षण, मनोसामाजिक परामर्श तथा थप अनुसन्धानका लागि नेपाली दूतावास, नयाँ दिल्लीमा राखिएको थियो। त्यसपछि उनीहरूलाई सुरक्षित रूपमा नेपाल फिर्ता पठाइएको आफन्त इण्डिया फाउन्डेशनका निर्देशक बिनोद कुमार खाती ले जानकारी दिएका छन्।
यो घटना रोजगारी तथा श्रम आप्रवासनको नाममा हुने श्रम शोषण र मानव बेचबिखनको गम्भीर उदाहरण भएको भन्दै आफन्त इण्डिया फाउन्डेशनले यस्ता पीडितहरूको उद्धार, संरक्षण, न्यायमा पहुँच तथा सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ।
साथै, वैदेशिक रोजगारीका नाममा दिइने झुटा प्रलोभनप्रति सचेत रहन र कानुनी तथा सुरक्षित माध्यमबाट मात्र रोजगारीका लागि विदेश जान सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ।
