कलैया, जेठ ३१ । बारा प्रहरीले अवैध रूपमा सञ्चालन भइरहेका घरेलु मदिरा उत्पादन केन्द्रहरूमा छापा मार्दै करिब ६५०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ महागढीमाई नगरपालिका–३ ग्वास टोल र वडा नं. १० गंजभवानिपुर क्षेत्रमा रहेका नौ वटा अवैध मदिरा भट्टी मा कारबाही गरेको हो।
प्रहरीका अनुसार ती भट्टीहरूमा घरेलु मदिरा उत्पादनका लागि तयारी अवस्थामा राखिएको करिब ६५०० लिटर कच्चा पदार्थ बरामद गरिएको थियो। उक्त कच्चा पदार्थको अनुमानित मूल्य रु. ३ लाख ९० हजार रहेको बताइएको छ।
बरामद गरिएको सम्पूर्ण कच्चा पदार्थ स्थानीय भद्रभलादमीहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मिनबहादुर घले ले अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रणका लागि प्रहरीको अभियान निरन्तर जारी रहने बताउँदै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेका छन्।
प्रहरीले अवैध घरेलु मदिरा उत्पादनले सामाजिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पार्ने भएकाले नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइने जनाएको छ।
