वीरगञ्ज, जेठ ३१ ।विभिन्न व्यक्तिहरुसँग भन्सार शुल्कको नाममा अवैध रूपमा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया निवासी प्रमोद कुमार कुर्मी पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बल नेपाल, गुल्म वीरगञ्जका अनुसार अनुसन्धानका क्रममा कुर्मीले सर्वसाधारण तथा व्यवसायीहरूसँग भन्सार शुल्क भन्दै गैरकानुनी रूपमा रकम लिएको प्रारम्भिक तथ्य फेला परेपछि उनलाई तत्काल नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका कुर्मीलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय बिर्ता, वीरगञ्ज पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र अवैध रूपमा रकम असुली गर्ने कार्यमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको सुरक्षा स्रोतले जनाएको छ।
यस घटनाले भन्सार शुल्कको नाममा हुने अवैध असुली तथा ठगी गतिविधिविरुद्ध सुरक्षा निकायले निगरानी कडा बनाएको संकेत गरेको छ।
