पर्सामा फरार प्रतिवादी पक्राउ अभियान तीव्र, एकै दिन विभिन्न मुद्दाका ४ जना कानुनी दायरामा

समाचार

वीरगञ्ज, १८ असार ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै एकै दिन विभिन्न प्रकृतिका मुद्दामा अदालतबाट सजाय तथा आदेश भएका चार जनालाई कानुनी दायरामा ल्याएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत फैसला कार्यान्वयनलाई प्राथमिकता दिँदै प्रहरीले अदालतका आदेश प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार फैसला कार्यान्वयन अन्तर्गत बिगो भराइ मुद्दामा पर्सा जिल्ला अदालतको मिति २०८३ साल वैशाख २५ गतेको आदेशबमोजिम दरबारी राउत अहिरका नाति तथा माहाविर राउत अहिरका छोरा, पर्साको साविक वीरगञ्ज उपमहानगरपालिका–१९ (हाल वीरगञ्ज महानगरपालिका–१६) निवासी मदन प्रसाद यादवलाई पक्राउ गरिएको छ। उनलाई अदालतको आदेश कार्यान्वयनका लागि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै, लेनदेनसम्बन्धी बिगो भरीभराउ मुद्दामा दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी राजेश प्रसाद चौहानलाई विशेष सूचनाको आधारमा बुधबार पोखरिया नगरपालिका–९ स्थित पोखरिया बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी लामो समयदेखि फरार रहेका थिए।

त्यसैगरी, चेक अनादर मुद्दामा अदालतबाट बिगो वापत एक वर्ष कैद सजाय तोकिएका जिल्ला रौतहट, गुजरा नगरपालिका–२ निवासी कृष्णबहादुर गौतमलाई पनि पक्राउ गरिएको छ। अदालतको आदेशअनुसार उनलाई फैसला कार्यान्वयनका लागि कारागार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जानकारी दिएको छ।

यसैबीच लागूऔषध (गाँजा) सम्बन्धी मुद्दामा पनि अदालतको आदेश कार्यान्वयन गरिएको छ। नेपाल सरकार वादी रहेको तथा प्रतिवादी टेकबहादुर गुरुङ समेत भएको मुद्दामा पर्सा जिल्ला अदालतले १८ असारमा भएको थुनछेक आदेशमार्फत गुरुङसँग दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, उनले तोकिएको धरौटी रकम बुझाउन नसकेपछि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पुर्जी जारी गरी कानुनबमोजिम हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तोकिएर फरार रहेका तथा फैसला कार्यान्वयन हुन बाँकी रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि थप प्रभावकारी बनाइने जनाएको छ।

अदालतका फैसला कार्यान्वयन गर्नु कानुनी शासनको महत्वपूर्ण पक्ष भएकाले फरार प्रतिवादीलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।

प्रहरीले सर्वसाधारणलाई अदालतबाट फैसला भएका व्यक्तिलाई लुकाउन वा संरक्षण नगर्न आग्रह गर्दै त्यस्ता व्यक्तिको अवस्थाबारे सूचना भए नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ।
:::

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *