पर्सामा विद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना

समाचार

वीरगञ्ज, असार २३ । जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार बिहान आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक संजिव तामाङले विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा कक्षा ९ र १० मा अध्ययनरत करिब ९४ जना विद्यार्थीलाई प्रशिक्षण दिएका थिए।

प्रहरी नायब निरीक्षक तामाङले लागूऔषध दुर्व्यसनका दुष्प्रभाव, प्रचलित कानुनी व्यवस्था, रोकथामका प्रभावकारी उपाय तथा यसको नियन्त्रणमा विद्यार्थीहरूले निर्वाह गर्न सक्ने भूमिकाबारे विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा सहभागी विद्यार्थीसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

कार्यक्रममा युवापुस्तालाई लागूऔषधको जोखिमबाट जोगाउन विद्यालय, अभिभावक, समुदाय र सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच विकास गर्न तथा लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *