पर्सामा प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ, ५ लाख बराबरको अवैध औषधिजन्य सामग्री बरामद

समाचार

वीरगञ्ज, असार २३ । पर्सामा सशस्त्र प्रहरी बलले चलाएको सीमा निगरानी अभियानअन्तर्गत प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। साथै भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरिएको करिब ५ लाख रुपैयाँ बराबरको अवैध औषधिजन्य सामग्री पनि बरामद गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सा र सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको संयुक्त टोलीले असार २२ गते राति करिब १०:३० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सा चेकजाँच गर्ने क्रममा एक भारतीय महिलाले दुवै तिघ्रामा टेपले बाँधेर लुकाइछिपाई ल्याएको प्रतिबन्धित लागूऔषध फेला पारेको हो।

बरामद गरिएको लागूऔषधमा डायजेपाम इन्जेक्सन २०० एम्पुल, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन २०० एम्पुल र बुप्रेनोर्फिन इन्जेक्सन २०० एम्पुल गरी जम्मा ६०० एम्पुल रहेका छन्।

घटनामा लागूऔषध बोकेकी भारतीय नागरिक महिला, उनीसँग रहेका अन्य दुई जना तथा ई–रिक्सा नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैबीच, असार २३ गते बिहान करिब ४:३० बजे वीरगञ्ज महानगरपालिका–१ स्थित छपकैया सीमा क्षेत्रमा बीओपी सिर्सियाबाट खटिएको मोबाइल टोलीलाई देख्नासाथ भारतबाट अवैध रूपमा औषधिजन्य सामग्री ल्याउँदै गरेका दुई जना व्यक्ति सामान छाडेर फरार भएका थिए।

प्रहरीले घटनास्थलबाट करिब ५ लाख रुपैयाँ बराबरको ४ कार्टुन भिटामिनसहित विभिन्न औषधिजन्य सामग्री बरामद गरेको छ। उक्त सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा लागूऔषध तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र चेकजाँच अभियानलाई अझ प्रभावकारी बनाइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *