सर्लाही, साउन १२ ।सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीको हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि साडीको पासो लगाएर झुन्ड्याई हत्या गर्ने प्रयास गरेका थिए।
घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। त्यसपछि आफन्तले समयमै पासो खोलेर चिन्ता देवीको उद्धार गरेका थिए।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। त्यसपछि उनलाई राति करिब १०:३० बजे रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएको छ, जहाँ उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न बसन्ता बैठा धोबीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।
