वीरगञ्ज, साउन १७।जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले पर्साको कमान्ड सम्हालेको केही दिनमै अवैध रकम कारोबार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाउँदै उल्लेखनीय सफलता हासिल भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एसपी भट्टराईको निर्देशन तथा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको कुशल कमान्डमा खटिएको ईलाका प्रहरी कार्यालय जानकिटोला सहितको सन्युक्त टोलीले विशेष सूचनाका आधारमा मिति २०८३ साउन १६ गते अपराह्न करिब ३:५० बजे पर्साको जगरनाथपुर गाउँपालिका–२ स्थित नहर सडकखण्डमा ना.१० प ४४६९ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
जाँचका क्रममा मोटरसाइकलमा सवार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल चितवनको माडी नगरपालिका–९ हनुमानझुला बस्ने ४२ वर्षीय दिपेश हिमडुङ र २६ वर्षीय तिलक हिमडुङलाई खानतलासी गर्दा स्रोत खुलाउन नसकिएको प्रतिबन्धित भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको रकममा भारतीय ५०० दरका ३१६ थान नोट (रु. १,५८,०००), २०० दरका ७५ थान नोट (रु. १५,०००) तथा १०० दरका ३६५ थान नोट (रु. ३६,५००) रहेको छ। यसरी उनीहरूको साथबाट जम्मा भारतीय रुपैयाँ २,०९,५०० बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त रकमसहित प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। पक्राउ परेका दुवै व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र बरामद रकमको स्रोत, उद्देश्य तथा सम्भावित अवैध कारोबारसँगको सम्बन्धबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
भारतसँग खुला सीमा जोडिएको पर्सा जिल्लामा बेला–बेलामा हुने अवैध मुद्रा ओसारपसार, तस्करी तथा वित्तीय अपराध नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको जनाएको छ।
विशेष सूचनाका आधारमा सञ्चालन गरिएका अपरेसनहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने र कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रहरीको भनाइ छ।
पर्सामा नयाँ नेतृत्व आएसँगै अवैध कारोबार, तस्करी तथा संगठित अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढेको देखिएको स्थानीयवासीको भनाइ छ। पछिल्ला दिनहरूमा विभिन्न स्थानमा गरिएको निगरानी र विशेष अपरेसनका कारण अवैध गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रहरीको दबाब बढ्दै गएको बताइएको छ।
