वीरगञ्ज,३१ साउन । पर्सा प्रहरीले भन्सार छली चोरी–तस्करी गरी नेपाल भित्र्याइएका करिब ४ लाख ७८ हजार ८ सय रुपैयाँ बराबरका लत्ताकपडा, खाद्यान्न तथा विभिन्न सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी इकाइबाट खटिएको विशेष प्रहरी टोलीले २०८३ साल साउन ३० गते विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।
बरामद गरिएका सामानहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाउने प्रक्रिया भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीका अनुसार बरामद सामग्रीमा ४६ पोका सम्राट मिट मसाला, १४५ पोका नेशनल एभ्रिडे पाउडर दूध, २ बोरा चना सातु, ४० प्याकेट सातु, ५८ प्याकेट रोयल स्टर, २३ प्याकेट डेरी मिल्क, २५० केजी मिल्क पाउडर, १६४ केजी फर्सीको बीउ र ९० केजी मरिच रहेका छन्।
त्यसैगरी २३ पिस नुटेला, १० पिस अमुल डार्क चकलेट डेरी मिल्क, एक डब्बा किन्डर जोय, ८ पिस एरियल पावर जेल, एक बोरा छोकडा, एक कार्टुन प्रोटिन पाउडर, ५० थान हेडफोन तथा अण्डरवेयर, गम्छा, गन्जी र झोलालगायत २०० पिस सामग्री बरामद गरिएको छ।
प्रहरीले २५ केजी काजु तथा मरिच र खजुर, मेथी, मिट मसाला तथा गरम मसाला गरी ६३ प्याकेटसमेत बरामद गरेको जनाएको छ।
भन्सार छली तथा चोरी–तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै पर्सा प्रहरीले सीमा क्षेत्र तथा जिल्लाका विभिन्न स्थानमा निगरानी, चेकजाँच र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।
