साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भए बाराका प्रहरी नायव निरीक्षक मनोज साह सोनार

समाचार

बारा, भदौ १८ । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको “Best Police of the Month” घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले “महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि–२०८३” बमोजिम प्रहरी नायव निरीक्षक साहलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन्।

आर्थिक प्रशासन शाखामा दरबन्दी भई हाल प्रहरी चौकी मुसहर्वा, विश्रामपुर, बारामा कार्यरत प्रहरी नायव निरीक्षक साहले आफ्नो जिम्मेवारीलाई लगनशीलता, कर्तव्यनिष्ठा र समर्पणका साथ निर्वाह गर्दै शान्ति–सुरक्षा कायम, अपराध नियन्त्रण तथा सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रशंसापत्रमा प्रहरी संगठनको श्रीवृद्धिमा साहले पुर्‍याएको योगदानको उच्च कदर गर्दै साउन महिनाको “Best Police of the Month” प्रदान गरिएको उल्लेख छ।

पुरस्कार वितरण कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले उत्कृष्ट कार्यसम्पादनका लागि प्रहरी नायव निरीक्षक साहलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि थप जिम्मेवार, अनुशासित र नागरिकमैत्री भएर सेवा प्रवाह गर्न प्रेरित गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराले उत्कृष्ट प्रहरी छनोटमार्फत प्रहरी कर्मचारीमा जिम्मेवारीप्रति थप उत्साह, प्रतिस्पर्धात्मक भावना र उत्कृष्ट कार्यसम्पादनको संस्कार विकास हुने विश्वास व्यक्त गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *