वीरगञ्ज, भदौ १८ ।
वीरगञ्ज महानगरपालिकामा सडक विस्तार भइरहेको क्षेत्रबाट विभिन्न इन्टरनेट तथा सञ्चार सेवाका तार चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
वीरगञ्जको गण्डकदेखि शंकराचार्य गेटसम्म भइरहेको सडक विस्तारका क्रममा विभिन्न स्थानबाट नेटका तार चोरी भएको घटनाबारे प्राप्त CCTV फुटेज तथा भिडियोको विश्लेषणपछि प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको पहिचान गरी निगरानी बढाएको थियो।
सोही क्रममा २०८३ भदौ १७ गते राति करिब ३ बजे वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको कमान्डमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१६ स्थित बाइपास सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धान गर्दा उनीहरू तार चोरी कार्यमा संलग्न रहेको देखिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी जिल्ला, रक्सौल घर भई हाल वीरगञ्ज महानगरपालिका–३ छपकैया बस्ने १८ वर्षीय भोला पटेल र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने करिब १८ वर्षीय सुरज बैठा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले CCTV फुटेज तथा भिडियो विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको र पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
सडक विस्तारका क्रममा अव्यवस्थित रूपमा रहेका तार चोरी हुन थालेपछि प्रहरीको सक्रियताले चोरीमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्। प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता भए/नभएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ।
