काठमाडौ ,२२ भदौ ।
काठमाडौंको ठमेलमा हिँडिरहेकी युवतीलाई अस्वाभाविक रूपमा छोएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत भदौ १६ गते राति करिब ८ बजे काठमाडौं महानगरपालिका–२६, ठमेलस्थित सार्वजनिक सडकमा २२ वर्षीया युवती हिँडिरहेको अवस्थामा सेतो टी–सर्ट र कालो पाइन्ट लगाएका, दाह्री–कपाल पालेका अन्दाजी २८–३० वर्षका एक अपरिचित पुरुषले उनलाई अस्वाभाविक रूपमा छोई (Bad Touch) अभद्र व्यवहार गरेका थिए।
घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले फुटेज तथा घटनामाथि अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले भदौ २० गते साँझ करिब ७ बजे सर्लाहीको कबिलासी नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–१४, कलंकी बस्ने ३० वर्षीय सालिन साहलाई ठमेलबाट पक्राउ गरेको हो।
पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ। उनीमाथि अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे जानकारी दिएका हुन्।
