वीरगञ्ज, भदौ २२ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोले जिल्ला प्रहरी कार्यालय पर्साको भ्रमण तथा अवलोकन गरेका छन्।
मन्त्री महतोले कार्यालयको विभिन्न शाखा तथा कार्यसम्पादन अवस्थाबारे जानकारी लिनुका साथै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सीमा सुरक्षा तथा प्रहरी परिचालन सम्बन्धी गतिविधिबारे जानकारी लिएका थिए।
भ्रमणका क्रममा प्रहरी अधिकारीहरूले जिल्लाको समग्र सुरक्षा अवस्था, लागूऔषध नियन्त्रण, सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाका विषयमा मन्त्री महतोलाई जानकारी गराएका थिए।
मन्त्री महतोले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै कानूनको प्रभावकारी कार्यान्वयन, नागरिकलाई सहज र निष्पक्ष सेवा तथा अपराध नियन्त्रणमा थप सक्रियता आवश्यक रहेकोमा जोड दिएका थिए।
भ्रमणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी पवनकुमार भट्टराई लगायत अधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
