बारा, २२ माघ ।
जिल्ला प्रहरी कार्यालय बाराको टोलीले भारतीय नम्बर प्लेट भएका आवश्यक कागजात तथा भन्सार पास नभएका २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, आइतबार विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा यी सवारीसाधन पक्राउ परेका हुन्।
एसपी सन्तोष तामाङको नेतृत्वमा बारामा ट्राफिक नियम उल्लङ्घन रोक्न कडा निगरानी बढाइएको छ। प्रहरीले यातायात नियम पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै निम्न सन्देश दिएको छ:
१.सवारी चलाउँदा अनिवार्य रूपमा कागजपत्र साथमा राख्नुपर्ने।
२.क्षमताभन्दा बढी यात्रु नचढाउनुपर्ने।
३.मादक पदार्थ वा लागू औषध सेवन गरी सवारीसाधन नचलाउनुपर्ने।
४.मोटरसाइकल चलाउँदा अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने।
५.ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्नुपर्ने।
६.भारतीय नम्बर प्लेट भएका सवारी चलाउँदा अनिवार्य रूपमा कागजात तथा भन्सार पास साथमा राख्नुपर्ने।
प्रहरीले सवारीसाधनको नियमित अनुगमन जारी राख्ने बताउँदै ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
