बारा, २९ माघ ।
विशेष सूचनाका आधारमा प्रहरीले ४ किलो ५ सय ग्राम अवैध लागू औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, जितपुरसिमरा उपमहानगरपालिका–१, पथलैया स्थित प्रहरीले चेकजाँचका क्रममा ना ६ ख ५३०९ नम्बरको यात्रुबाहक बस रोकी जाँच गर्दा, बसमा सवार एक व्यक्तिको कालो झोलाबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो।
प्रहरी वरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमान्डमा खटिएको टोलीले नारायणघाटबाट वीरगञ्जतर्फ आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो। पक्राउ परेका व्यक्ति भारत बिहार राज्य, बेतिया जिल्ला, भवरा गाउँ, वडा नम्बर ८ बस्ने ४५ वर्षीय विजय श्रीवास्तव रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार, पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
