पर्सा, फागुन ८।
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६, शंकराचार्य गेट नजिक लागुऔषध चेकजाँच अभियानको क्रममा प्रहरीले १३ केजीभन्दा बढी लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाबाट वरिष्ठ नायब निरीक्षक (सई) योगेन्द्र थापाको नेतृत्वमा खटिएको टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार, पहिलो घटनामा फागुन ७ गते बारा जिल्लाको प्रसौनी गाउँपालिका–२, बुनियादकी ३० वर्षीया आरती यादवलाई ११ किलो ४०० ग्राम चरेशजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। यादवले वीरगञ्ज महानगरपालिका–१६, बसपार्कस्थित भाडाको कोठामा बस्दै आएकी थिइन्। उनको साथमा रातो ग्यालेनमा लुकाइएको अवस्थामा लागुऔषध फेला परेको थियो।
दोस्रो घटनामा भारत, पश्चिम बंगालको नदिया जिल्लाका २८ वर्षीय राज अधिकारीलाई ६ किलो ३०० ग्राम गाँजाजस्तो देखिने पदार्थ र २ किलो १०० ग्राम चरेशजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो। अधिकारीको साथमा क्यामो ब्यागमा लुकाएर राखिएको अवस्थामा लागुऔषध बरामद गरिएको प्रहरीको भनाइ छ।
दुवै पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
