टोखाबाट गोली चलाएर फरार भारतीय सुटर पक्राउ

समाचार

काठमाडौं,१८ फागुन । काठमाडौंको टोखामा आइतबार प्रहरीले गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेललाई पक्राउ गरेको छ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि  गोली चलाएर पटेलललाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले अहिले पटेललाई उपचारका लागि ट्रमा सेन्टर पुर्‍याएको छ।

पटेल साढे दुई वर्षअघि जोरपाटीमा गोली हानी हत्या गरिएका लाल मोहम्मद हत्या प्रकरणमा संलग्न सुटर हुन्।

उनको दाहिने घुँडामा दुई गोली लागेको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिन सुरूमा दुई राउन्ड हवाई फायर गरेको थियो।

२०७९ असोज ३ गते साँझ सर्लाहीका व्यापारी मोहम्मदको गोठाटारमा गोली प्रहार गरी हत्या गरिएको थियो। घटनामा संलग्न मुख्य सुटरमध्ये भारतीय नागरिक पटेल रहेको प्रहरीले जनाएको छ।

‘घाइते अवस्थाका पटेललाई अहिले उपचारको लागि ट्रमा सेन्टरमा राखिएको छ,’ प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले भने।

गोठाटारमा गार्मेन्ट उद्योग चलाइरहेका मोहम्मद त्यो दिन फ्याक्ट्रीका लागि आवश्यक प्लास्टिक लिन ग्राहक रामप्रसाद गौतमको बा६च ५१५२ नम्बरको कारमा जोरपाटी गएका थिए।

फर्किएर फ्याक्ट्री अगाडि आउँदा दुई जनाले उनलाई कुरेर बसेका थिए। ती दुबै जनाले मोहम्मदमाथि गोली चलाएका थिए। तीमध्ये एक जनालाई आइतबार प्रहरीले गोली हानी पक्राउ गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *