बाराका दुई विद्यालयमा सीएफआरडीको सहयोगमा १६० साइकल वितरण, विद्यार्थीहरू हर्षित

समाचार

बारा, १८ फागुन – चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)को सहयोगमा बाराको विश्रामपुर गाउँपालिका वडा नं. ३ र ४ का दुई विद्यालयमा १६० वटा साइकल वितरण गरिएको छ।

अन्तर्राष्ट्रिय साइकल परियोजनाअन्तर्गत आईतवार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मुसहर्वा (वडा नं. ३) का ८० विद्यार्थी र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, बलिरामपुर (वडा नं. ४) का ८० विद्यार्थी गरी कुल १६० जनालाई साइकल प्रदान गरिएको हो।

मधेश प्रदेशका ९ सामुदायिक विद्यालयमा १,००० विद्यार्थीलाई साइकल वितरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा यी विद्यार्थीहरूले साइकल प्राप्त गरेका हुन्। आयोजकका अनुसार यस कार्यक्रमले ग्रामीण क्षेत्रका बालबालिकाको शिक्षामा सहज पहुँच पुर्‍याउने तथा यातायातका चुनौती समाधान गर्ने लक्ष्य राखिएको छ।

मुसहर्वा विद्यालयमा आयोजित कार्यक्रममा वडा नं. ३ का अध्यक्ष शिवचन्द्र प्रसाद यादवको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रधानाध्यापक जुगुल किशोर साह, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति थियो।

बलिरामपुर विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पतिलाल साहको अध्यक्षता रहेको थियो। सो कार्यक्रममा प्रमुख अतिथि वडा नं. ४ का अध्यक्ष किसोरी साह, पूर्व वडा अध्यक्ष मदन प्रसाद यादव, सीएफआरडीका प्रतिनिधि कबित नेपाल, कृतिसा श्रेष्ठ, पिंकी श्रेष्ठ, बारा निवासी डा. धन्नजय यादव, प्रधानाध्यापक आनन्द कुमार गुप्ता लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

वक्ताहरूले सीएफआरडीको प्रशंसा गर्दै विद्यार्थीहरूको शिक्षामा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे। उनीहरूले विद्यालयलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्न तथा थप सहयोग गर्न आग्रह गरेका थिए। लामो दुरीबाट विद्यालय आउनुपर्ने विद्यार्थीहरूलाई सहज बनाउन गरिएको यो कार्यक्रमबाट विद्यार्थीहरू अत्यन्तै खुशी देखिन्थे।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *