बारा,७ चैत ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर बस्ने कामेश्वर गुप्ताको छोरा वर्ष ३६ को सुनिल कुमार गुप्तालाई प्रहरीले डाँका, आपराधिक उपद्रव र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले फरार प्रतिवादीको खोजी गर्ने क्रममा २०८१ साल चैत ७ गते साँझ जीतपुरसिमरा ७ स्थित सडकमा हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार, चैत १ गते राति होली पर्वको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरका वडाध्यक्ष सुनिल गुप्ता नेतृत्वको समूहले जीतपुरसिमरा ७ निवासी परशुराम गिरीको घरमा जबरजस्ती प्रवेश गरी कुटपिट, गालीगलौज तथा ज्यान मार्ने प्रयास गरेको आरोप छ। घटनाका क्रममा घरधनी गिरीले आत्मरक्षाका लागि हवाई फायर समेत गरेका थिए।
उक्त घटनामा संलग्न १० जना मध्ये २ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी फरार अभियुक्तहरूको खोजी जारी रहेको बारा प्रहरीले जनाएको छ।
यस अघि पक्राउ परेका वडाध्यक्ष गुप्ताविरुद्ध जिल्ला प्रहरी कार्यालय बाराले मुद्दा दर्ता गरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ।
बारा प्रहरीका अनुसार, घटनाको पुष्टि हुने सिसिटिभी फुटेजसमेत सार्वजनिक भइसकेको छ, जसमा गुप्ता नेतृत्वको समूहले गिरीको परिवारमाथि आक्रमण गरेको देखिन्छ। प्रहरीले घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजी कार्य तीव्र बनाएको जनाएको छ।
