बारा, चैत २४।
जिल्ला बारा, जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. २१ स्थित क्षेत्रमा लागू औषध चरेस बोकी हिँडिरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको टोलीले एक व्यक्तिलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ।
प्रहरी वरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले १५० सिसीको पल्सर मोटरसाइकल (ना.प. बा ४८ प ९३३) मा हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको व्यक्तिलाई पछ्याउँदै चेकजाँच गर्दा मोटरसाइकलको सिटमुनि लुकाइएको अवस्थामा चरेस जस्तो देखिने लागू औषध बरामद गरेको हो।
डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित लागू औषधको कुल तौल ११.६८ किलोग्राम रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्ति मकवानपुर जिल्ला, थाहा नगरपालिका वडा नं. ६ ब्रर्जबारे निवासी ३८ वर्षीय दशरथ थिङ रहेका छन्।
प्रहरीले लागू औषध, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाएको जनाएको छ।
