४४ गणमध्ये प्रथम स्थानमा बाराको १२ नम्बर गण, एसपी  केसीलाई ‘एपीएफ बेस्ट बटालियन अवार्ड–२०८२’

समाचार

रसीद आलम।
बारा, ९ माघ।
सशस्त्र प्रहरी बल नेपालको २५ औँ स्थापना दिवस तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, बाराले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। ४४ वटा गणहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्दै पहिलो स्थान हासिल गर्न सफल १२ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी लाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ले ‘एपीएफ बेस्ट बटालियन अवार्ड–२०८२’ प्रदान गर्नुभएको हो।


अवार्ड प्राप्तिपछि नम्बर १२ गणले ट्रफीसहित बाराको सदरमुकाम कलैयामा भव्य विजय र्‍याली आयोजना गर्दै खुशी साटासाट गरेको छ।

उपरीक्षक केसीले आफ्नो एक वर्षे कार्यकालमा देखाएको नेतृत्वदक्षता, कार्यक्षमता र नतिजामूलक कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै १२ गणलाई देशकै उत्कृष्ट गण बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ। उहाँको नेतृत्वमा सीमा सुरक्षा अझ सुदृढ, प्रभावकारी र परिणाममुखी बनेको छ।

सीमावर्ती क्षेत्रमा हुने अन्तरसीमा अपराध, अवैध ओसारपसार तथा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल भएको छ। सूचनामा आधारित कारबाही, नियमित निगरानी तथा विशेष अपरेसनमार्फत करिब ५ करोड रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको छ। साथै, तयारी गाँजा, अफिम तथा लागुऔषधजन्य ट्याबलेटहरू बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ।

विपद् व्यवस्थापनमा पनि उपरीक्षक केसीको कार्यकाल उदाहरणीय रह्यो। प्राकृतिक विपद्का समयमा सशस्त्र प्रहरी बलको छिटो, संगठित र प्रभावकारी परिचालनले जनधनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। स्थानीय तह तथा सरोकारवाला निकायसँगको समन्वयमा राहत, उद्धार, पुनर्स्थापना र कृत्रिम घटना अभ्यासहरू सफलतापूर्वक सञ्चालन भएका छन्।


सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम, BADP अन्तर्गत QIP परियोजना मार्फत सार्वजनिक प्रतिक्षालय, शौचालय निर्माण, खानेपानी, सरसफाइ, विद्यालय तथा सार्वजनिक संरचना सुधारजस्ता साना तर प्रभावकारी विकासात्मक कार्यहरू सम्पन्न गरिएका छन्। यसले सीमावासीको जीवनस्तर उकास्नुका साथै सुरक्षा निकायप्रति विश्वास र सहकार्यको वातावरण मजबुत बनाएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्।


त्यसैगरी, गणको भौतिक पूर्वाधार विकास, कार्यालय भवन, मेश, व्यारेक, आवासीय संरचनाको निर्माण तथा सुधारमा विशेष ध्यान दिइँदा कार्यालय परिसर थप व्यवस्थित, सुरक्षित र आकर्षक बनेको छ। सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै गरिएको व्यवस्थापन सुधारले कर्मचारीहरूको मनोबल र कार्यक्षमता उल्लेखनीय रूपमा बढेको छ।

पारदर्शी, दूरदर्शी र अनुशासित नेतृत्वमार्फत राजस्व चुहावट नियन्त्रण, अन्तरसीमा अपराध न्यूनीकरण र संगठनको छवि उकास्न उपरीक्षक खुमबहादुर केसीको योगदान सराहनीय, प्रशंसायोग्य र स्मरणीय रहेको सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *