बारा, ५ बैशाख ।
जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गत ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डिएसपी सुबोन्द्रा वाइवा तामाङको नेतृत्वमा खटिएको टोलीले लागू औषध कारोबारमा संलग्न गिरोहमाथि ठुलो कारवाही गरेको छ।
विशेष सूचनाको आधारमा खटिएको संयुक्त टोलीले वैशाख ४ गते राति करिब ११:४५ बजे बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा चेकजाँचको क्रममा ३०० केजी गाजाँ बरामद गरेको हो।
हेटौडाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रक र त्यसलाई स्कर्टिङ गर्दै गरेको ना ३३ प ७४६९ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा ट्रकमा रातो प्लास्टिकले बेरिएका १६ वटा ठूलो र ३ वटा सानो प्याकेटमा लागू औषध गाजाँ फेला परेको थियो।
पक्राउ परेकाहरूमा मिनी ट्रक चालक मकवानपुर, कैलास गाउँपालिका–४ का ३२ वर्षीय राजन लामा, सोही ट्रकमा सवार हेटौडा उपमहानगरपालिका–३ का ३३ वर्षीय ईश्वर लोप्चन, र मोटरसाइकल चालक कैलास गाउँपालिका–१० का २७ वर्षीय जीवन ठोकर रहेका छन्।
डिएसपी वाइवाको कमाण्डमा भएको यो सफल अपरेशनले सिमरा क्षेत्रमा फैलिएको लागू औषधको संजाललाई ठूलो धक्का पुर्याएको छ। डिएसपी वाइवाले लागू औषधविरुद्धको अभियानलाई निरन्तरता दिइने बताउँदै समाज, अभिभावक र युवाहरूलाई पनि प्रहरीलाई सहयोग गर्न आह्वान गरेकी छिन्।
स्थानीय बासिन्दाहरूका अनुसार, डिएसपी वाइवा सिमरामा पदस्थापन भएको तीन महिनामै लागू औषध कारोबारमा संलग्न तत्वहरूलाई नियन्त्रणमा लिन सफल भएकी हुन्।
